काठमाडौं, साउन १७- प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।
मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।
त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।
असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् ।
यस्तै ज्योतिषी तथा वास्तुविद् रिजालले यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन् ।