Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको कटाक्ष : ‘देवता जन्मिन छाडे, नक्कली भगवान जन्मिएर हैरान छ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा बढ्दो अन्धभक्ति र आफूलाई भगवानका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्।

उनले पार्वतीको श्रापपछि देवताहरू जन्मिन छाडेको तर अहिले नक्कली भगवानहरू जन्मिएर हैरान पारेको टिप्पणी गरेका हुन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता र योग दर्शनबारे आफ्नो धारणा राखेका थिए।

उनले दक्षिणतिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्न जाने प्रवृत्तिमाथि समेत कटाक्ष गरे।

ओलीले पौराणिक प्रसङ्ग उल्लेख गर्दै पहिले ३३ कोटी देवता जन्मिएको र पार्वतीले श्राप दिएपछि देवताहरूको सन्तान जन्मिने क्रम रोकिएको व्याख्या गरे।

तर अहिले नक्कली भगवानहरू जन्मिएर हैरान पारेको उनको भनाइ थियो।

उनले भने, ‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ।’
कार्यक्रममा ओलीले अष्टाङ्ग योगका सिद्धान्तबारे चर्चा गर्दै मानिसले हिंसा नगर्ने, असत्य नबोल्ने, सत्यको बाटोमा हिँड्ने र अरूको सम्पत्तिमा लोभ नगर्ने आचरण अपनाउनुपर्ने बताए। उनका अनुसार योगका यम र नियमले मानिसलाई अनुशासित र नैतिक जीवन जिउन सिकाउँछन्।

अरूको सम्पत्तिमा लोभ नगरी आफ्नो जायज हकमा मात्र सीमित रहनुपर्ने उल्लेख गर्दै ओलीले सत्य, न्याय र मानवतावादलाई महत्त्व दिनुपर्ने धारणा राखे।

योग दर्शनबारे बोल्दै उनले पतञ्जलिको योगमा पुग्दा योग दर्शन ईश्वरवादसँग जोडिएको दाबी गरे। सांख्य र शैव दर्शनमा भने योगको मुख्य जोड स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा रहेको उनको भनाइ थियो।

ओलीले योगलाई केवल धार्मिक आस्थासँग जोडेर हेर्नुभन्दा यसको मूल उद्देश्य बुझ्नुपर्नेमा जोड दिँदै स्वस्थ शरीर र मस्तिष्क निर्माणका लागि योग महत्त्वपूर्ण रहेको बताए।

 


प्रतिकृया दिनुहोस्