काठमाडौं । डाविड मलानको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो।
चितवनका लागि मलानले ५१ बलमा ७० रन बनाए। उनले ५ छक्का र ५ चौका प्रहार गरे। यो संस्करणको एनपीएलमा बनेको पहिलो अर्धशतक हो। उनले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। देव १२ रनमा आउट भए।
अर्जुन साउद ३ रनमा आउट हुँदा चितवनले दोस्रो विकेट गुमाएको थियो। मलान ७० रन बनाएर आउट भएपछि रवि बोपारा र डान मोस्लीले टोलीको इनिङ्स सम्हाले।
यी दुईले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। रवि ३२ र डान २९ रनमा नटआउट रहे।
अब विराटनगरले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।





























