काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको मस्कटमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ।
नेपाल र ओमान दुवैले अघिल्लो खेलमा क्यानडालाई पराजित गरेका थिए। ओमानले क्यानडालाई ४१ रनले हराएको थियो भने नेपालले २१ रनको जित निकालेको थियो।
लिग–२ को अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ। नेपाल भने ३३ खेलमा २६ अंकसहित छैटौं स्थानमा रहेको छ। ३४ खेलबाट २५ अंक जोडेको क्यानडा सातौं स्थानमा छ।
आज ओमानलाई हराउन सके नेपालले क्यानडासँगको अंक दूरी ३ पुर्याउनेछ। नेपालले ओमानसँगै प्रतियोगिताका बाँकी खेलमा पनि राम्रो नतिजा निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ।































