Skip

Hamro Sanchar

काठमाडौं शिक्षा क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

सामुदायिक क्याम्पसलाई सम्बन्धनमा विभेद भएको गुनासो

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

काठमाडौं, भदौ २७- त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित काठमाडौं शिक्षा क्याम्पसले बीसीए, बीबीएस र बीएड तहमा नयाँ भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. दुबीनन्द ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा त्रिविका पूर्वरेक्टर तथा पूर्वउपकुलपति प्रा.डा. शिवलाल भुसाल, काठमाडौं शिक्षा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, व्यवस्थापन संकायका सहायक डिन डा. भारत राई, चन्द्रागिरि नगरपालिका वडा अध्यक्ष शिवकुमार महर्जनलगायतको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले क्याम्पसले हासिल गरेको शैक्षिक प्रगति, आधुनिक पूर्वाधार, गुणस्तरीय शिक्षा, अनुसन्धान तथा विद्यार्थीमैत्री वातावरणको प्रशंसा गर्दै उच्च शिक्षालाई समाज, रोजगारी, उद्यमशीलता र श्रम बजारको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिए।

डिन प्रा.डा. ढकालले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको रुचि र बजारको मागअनुसार नयाँ शैक्षिक कार्यक्रम विस्तारका लागि प्रयास गरिरहेको बताउनुभयो। उहाँले आवश्यक मापदण्ड पूरा गरेका क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अवसर दिइने बताउँदै बीसीएको पाठ्यक्रमलाई समेत समयानुकूल अद्यावधिक गरिएको जानकारी दिनुभयो।

त्रिविका पूर्वरेक्टर प्रा.डा. शिवलाल भुसालले बीसीए विज्ञान पृष्ठभूमिका विद्यार्थीका लागि मात्र सीमित नरहेको बताउँदै सूचना प्रविधिको ज्ञान र सीप विकासलाई कार्यक्रमले प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

व्यवस्थापन संकायका सहायक डिन डा. भारत राईले त्रिविमा व्यवस्थापन विषयको आकर्षण उच्च रहेको बताउँदै कुल विद्यार्थीमध्ये करिब ४० प्रतिशत व्यवस्थापनसम्बन्धी कार्यक्रममा आबद्ध रहेको जानकारी दिनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा काठमाडौं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले सामुदायिक क्याम्पसलाई नयाँ विषय तथा कार्यक्रमको सम्बन्धन प्रदान गर्ने क्रममा विभेद भइरहेको गुनासो गर्नुभयो।

उहाँले नेपालका ५५० भन्दा बढी सामुदायिक क्याम्पसका समस्या उठाउँदै आएको बताउँदै योग्य क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अवसर दिन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गर्नुभयो।

“हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन चाहन्छौँ। तर त्यसका लागि आवश्यक शैक्षिक कार्यक्रम विस्तारको अवसर पनि सामुदायिक क्याम्पसले पाउनुपर्छ,” गुप्ताले भन्नुभयो।

कार्यक्रममा आईक्यूएसी सदस्य तथा स्वमूल्याङ्कन टोलीका संयोजक भीमप्रसाद सापकोटाले क्याम्पसका शैक्षिक उपलब्धि, पूर्वाधार, छात्रवृत्ति, उद्यमशीलता कार्यक्रम तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराउनुभयो। उहाँले प्रस्तुतीकरणमार्फत क्याम्पसको ‘भर्चुअल टुर’ समेत गराउनुभयो।

क्याम्पसले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित विद्यार्थीलाई उच्च शिक्षा निरन्तरताका लागि छात्रवृत्ति तथा शुल्कमा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विपत्तिमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति सम्मान व्यक्त गर्दै कार्यक्रममा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

कार्यक्रममा नवआगन्तुक विद्यार्थी डिना घिमिरेले क्याम्पसको शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, पूर्वाधार तथा विद्यार्थीलाई प्राप्त हुने अवसरका कारण आफूले काठमाडौं शिक्षा क्याम्पस रोजेको बताउनुभयो।

स्वागत कार्यक्रममा विद्यार्थी तथा शिक्षक–कर्मचारीले तीज विशेष गीत तथा नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। त्यसपछि विद्यार्थीलाई सम्बन्धित विषयको पाठ्यक्रम, परीक्षा प्रणाली, अध्ययन पद्धति र शैक्षिक अवसरबारे विषयगत अभिमुखीकरणसमेत दिइएको थियो।

क्याम्पस प्रशासनले गुणस्तरीय, प्रविधिमैत्री र बजारमुखी शिक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप शैक्षिक कार्यक्रम विस्तार गर्ने जनाएको छ।


प्रतिकृया दिनुहोस्