Skip

Hamro Sanchar

भदौ २३ र २४ का घटनाका दोषीलाई उन्मुक्ति दिनु हुँदैन : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै थापाले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएका तोडफोड र आगजनीसम्मका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

उनले भदौ २३ गते युवाहरूले गरेको शान्तिपूर्ण विद्रोहमाथि राज्यबाट चरम दमन स्विकार गर्दै
आन्दोलनमा घुसपैठ गरेर हिंसा भड्काइएको आरोपसमेत लगाएका छन्।

त्यस्तै, भदौ २४ गतेको घटनामा आवेग र आक्रोशलाई प्रयोग गर्दै सिंहदरबार, अदालत तथा निजी सम्पत्तिमाथि योजनाबद्ध रूपमा ध्वंस मच्चाइएको थापाको भनाइ छ।

भदौ २४ गते आफ्नो घरसमेत जलेको र परिवार जोखिममा परेको उल्लेख गर्दै उनले व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाहरूको पीडा ठूलो विषय भएको बताए।

थापाले सिंहदरबार र अदालत जलाउने, मानिसहरूलाई उक्साउने तथा त्यसको योजना बनाउने व्यक्ति वा समूहको पहिचान गर्नुपर्नेमा जोड दिए। त्यति ठूलो राज्य संयन्त्र छोटो समयमै कसरी प्रभावहीन बन्यो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए।

थापाले आवेगमा व्यक्त भएको प्रतिक्रियालाई अपराधसँग एउटै रूपमा हेर्न नहुने बताए।

आवेगमा प्रतिक्रिया दिने व्यक्तिले माफी पाउन सक्ने भए पनि त्यसैको फाइदा उठाएर अपराध गर्नेहरूलाई भने उन्मुक्ति दिन नहुने उनको धारणा छ।

दोषीलाई कारबाही नगर्दा दण्डहीनता बढ्ने उल्लेख गर्दै थापाले अपराध गर्नेले सजाय पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।

आगजनी तथा ध्वंसमा संलग्नलाई कारबाही नभए यस्ता गतिविधिले भविष्यमा पनि प्रश्रय पाउने उनको भनाइ छ।

सरकार गठनका बेला भदौ २४ गतेका घटनाबारे निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै थापाले अनुसन्धानको प्रगति सार्वजनिक गर्न माग गरेका छन्।

उनले भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न तथा भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गरी राज्यलाई समेत जवाफदेही बनाउन सरकारसँग आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्