Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको वडा नम्बर–७ बालश्रम मुक्त वडा घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यवाहक वडाध्यक्ष भक्त थापालाई बालश्रम मुक्त वडा घोषित भएको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

बालमैत्री नगर निर्माणको अभियानमा अघि बढिरहेको नगरपालिकाले यसअघि वडा नम्बर–५ लाई बालश्रम मुक्त वडा घोषणा गरिसकेको छ। नगरपालिकाले निकट भविष्यमा अन्य वडालाई समेत क्रमशः बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी अघि बढाएको छ।

कार्यक्रममा नगर प्रमुख कार्कीले बालश्रम, बालशोषण तथा बालहिंसा गम्भीर अपराध भएको उल्लेख गर्दै सबैको सहयोग र सहकार्यबाट मात्रै सभ्य तथा बालमैत्री समाज निर्माण गर्न सकिने बताए। उनले बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

नगर प्रमुख कार्कीले सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। शिक्षालाई अनिवार्य, निःशुल्क र सर्वसुलभ बनाउन नगरपालिका सदैव तत्पर रहेको उनको भनाइ थियो।

उनले भोटेकोसी बाढीबाट प्रभावित केहि बालबालिकाको शिक्षालगायत आवश्यक पक्षको नगरपालिकाले समग्र जिम्मेवारी लिनेगरी छलफल भैरहेको जानकारी दिए।

बालश्रम मुक्त वडा घोषणा गर्न विभिन्न २० वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। ती सूचक पूरा गरेपछि वडा नम्बर–७ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी तथा वडा नम्बर–१ का अध्यक्ष मकुन्द गजुरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


प्रतिकृया दिनुहोस्