२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ ।
यसअघि कांग्रेसले १६ देखि १९ असोजसम्म महाधिवेशन गर्ने गरी विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिपछि प्रभावित क्षेत्रसहित विभिन्न जिल्लाबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै अधिवेशनका अन्य कार्यक्रमको मिति परिमार्जन गरिएको हो ।
नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन ३ र ४ असोजमा हुनेछ । स्थानीय अनुकूलताअनुसार यी दुई दिनमध्ये उपयुक्त दिनमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।
त्यसैगरी गाउँपालिका तथा नगरपालिका अधिवेशन ७ असोजमा र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गर्ने कार्यतालिका छ । कांग्रेसका अनुसार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, नेपाली कांग्रेसका जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार १६ देखि १९ असोजको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन क्यालेन्डर सार्वजनिक गरिएको उल्लेख छ।
































