१३ भद, काठमाडौं । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ ।
मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो ।
उनकी श्रीमती र छोरीसहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
श्रीमती र छोरीलाई जनही ३० महिनाको जेल सजाय सुनाइएको छ ।
अदालतले दोषी ठहर गरिएका सबैलाई गैरकानुनी रूपमा प्राप्त रकमको तीन गुणा बराबर रकम ९० दिनभित्र फिर्ता गर्न आदेश दिएको छ ।






























