दोलखा । नेकपा (कम्युनिस्ट पार्टी) जिल्ला समिति दोलखाले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापनामा जुट्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नेकपा (कम्युनिस्ट पार्टी) जिल्ला समिति दोलखाका जिल्ला संयोजक अशोककुमार दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरिएको छ। बाढीबाट घर–पसल, पशुचौपाया, भन्सार कार्यालय, प्रहरी चौकी, टेलिकम टावर, सडक, पुल, हाइड्रोपावर आयोजना तथा विद्युत् गृह र सबस्टेसनलगायतका संरचनामा क्षति पुगेको जनाइएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै पार्टीले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा थप जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।
विज्ञप्तिमा विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरिएको छ। बाढीमा दोलखाका समेत धेरै नागरिक प्रभावित भएको र केही नागरिक बेपत्ता तथा लामो समयदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै उनीहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
नेकपा दोलखाले विपद् व्यवस्थापनका लागि आवश्यक सबै संयन्त्र, साधन–स्रोत र विकल्प परिचालन गर्न सरकारसँग आग्रह गर्दै संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संघ–संस्थालाई आपसी समन्वय, सहकार्य र एकताका साथ उद्धार, घाइतेको उपचार तथा राहत कार्यमा जुट्न अपिल गरेको छ।
पार्टीले बाढी प्रभावित नागरिकलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन र विपद्का कारण थप क्षति हुन नदिन प्रभावकारी कदम चाल्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।































