Skip

Hamro Sanchar

विपद्को घडीमा हिसानको साथ, बाढीपीडितका लागि राहत कोषमार्फत सहयोग जुटाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

हिसानले प्रेस विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण मानवीय बस्ती, घर तथा विद्यालय, सडक, पुल, जलविद्युत् आयोजना, सञ्चारलगायत महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो।

बाढी तथा पहिरोका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिसानले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइते र प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

भूकम्प, कोरोना महामारीलगायत विगतका राष्ट्रिय संकटका समयमा राहत, उद्धार, सहयोग तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै हिसानले अहिलेको विपद्मा पनि सरकारलाई उद्धार, राहत तथा पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ तत्काल र प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ।

विशेषगरी बाढी तथा पहिरोका कारण सम्पर्कविहीन, घरहरूमै थुनिएका तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकको खोजी तथा उद्धारमा ड्रोन, डिजिटल म्यापिङ, सञ्चार प्रणाली तथा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न हिसानले सरकारसँग अनुरोध गरेको छ।

साथै, सम्भावित जोखिमयुक्त क्षेत्रमा व्यवस्थित र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा समेत जोड दिएको छ।

राष्ट्रिय विपद्को घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै हिसानले राहत तथा सहयोगका कार्यक्रमलाई सक्रिय बनाउन ‘हिसान केन्द्रीय राहत कोष’मार्फत प्रभावित नागरिकलाई सहयोग जुटाउने निर्णय गरेको जनाएको छ।

सहयोग संकलन तथा वितरणमा आवश्यक समन्वयका लागि हिसानका प्रदेश, जिल्ला तथा पालिका तहका संरचनालाई सक्रिय रूपमा परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ।

विपद्को कठिन परिस्थितिमा सरकार, निजी क्षेत्र, शैक्षिक क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीचको सहकार्यबाट मात्र प्रभावित नागरिकलाई राहत तथा सुरक्षित पुनःस्थापनातर्फ अघि बढ्न सकिने विश्वाससमेत हिसानले व्यक्त गरेको छ।

बाढीका कारण विद्यालयहरूमा भएको क्षतिले पठनपाठन प्रभावित हुन सक्ने भन्दै हिसानसम्बद्ध विद्यालयहरूलाई प्रभावित बालबालिकाको शिक्षामा सहजता ल्याउन आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।

 


प्रतिकृया दिनुहोस्