Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकामा नगर प्रहरीलाई सर्प उद्धार तथा सुरक्षित व्यवस्थापन तालिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

काठमाडौं, भदौ ११- कागेश्वरी मनोहरा नगरपालिकाले नगर प्रहरी बल शाखामा कार्यरत सम्पूर्ण नगर प्रहरी कर्मचारीहरूका लागि सर्प उद्धार तथा सुरक्षित व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरेको छ।

बुधबारदेखि नगरपालिकाको मिटिङ हलमा जारी तालिममा डिभिजन वन कार्यालयबाट खटिएर आएका प्राविधिक कर्मचारी श्री सुबोध आचार्य तथा श्री आशिष कर्णले सहजीकरण गरिरहेका छन्।

तालिमको मुख्य उद्देश्य नगर क्षेत्रमा सर्प देखापरेका वा उद्धार गर्नुपर्ने अवस्थामा नगर प्रहरी कर्मचारीहरूले सुरक्षित, प्रभावकारी तथा वैज्ञानिक तरिकाबाट सर्प उद्धार गर्न सक्ने क्षमता विकास गर्नु रहेको नगरपालिकाले जनाएको छ।

तालिमका क्रममा सर्पको पहिचान, विषालु तथा अविषालु सर्प छुट्याउने तरिका, उद्धारका क्रममा अपनाउनुपर्ने सुरक्षा सावधानी, आवश्यक उपकरणको प्रयोग तथा उद्धारपछिको सुरक्षित व्यवस्थापनलगायत विषयमा व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिनेछ।

नगर क्षेत्रमा वर्षायामसँगै सर्पको गतिविधि बढ्ने र स्थानीयवासीबाट उद्धारका लागि नगरपालिकामा अनुरोध आउने भएकाले नगर प्रहरीलाई आवश्यक सीप र दक्षता प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइएको छ।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट नगर प्रहरी कर्मचारीहरू सर्प उद्धार तथा सुरक्षित व्यवस्थापनमा थप दक्ष र सक्षम बन्ने विश्वास गरिएको छ।


प्रतिकृया दिनुहोस्