८ भदौ, काठमाडौं । बंगलादेशको रङ्गपुर सहरमा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतकका काकाका छोराहरू (दाजुभाइ)मुग्धो र सिद्धार्थलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिहीबार राति छिमेकीको भवन हुँदै गणपति चक्रवर्तीको घरको छतमा पुगेका आरोपीहरूले ‘याबा’ नामक लागुऔषध सेवन गरिरहेका थिए।
छतबाट आवाज आएपछि हेर्न पुगेका गणपतिले सोधपुछ गर्दा पहिचान खुल्ने डरले उनीहरूले गम्छाले घाँटी थिचेर हत्या गरेका थिए।
त्यसपछि आवाज सुनेर पालैपालो छततर्फ आएकी उनकी पत्नी, छोरी र १२ वर्षका छोराको समेत कपडाले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्यापछि आरोपीहरू करिब ६ देखि ७ घण्टासम्म सोही घरभित्रै बसेर खाना खाएको, पुनः लागुऔषध सेवन गरेको र नुहाएर निस्किएको अनुसन्धानमा खुलेको छ। प्रहरी सोधपुछका क्रममा दुवै आरोपीले अपराध स्वीकार गरिसकेका छन्।
घटनामा ६५ वर्षीय पूर्व शिक्षक गणपति चक्रवर्ती, उनकी ५० वर्षीया पत्नी प्रीतिलता, २३ वर्षीया छोरी आगमी र १२ वर्षीय छोरा प्रियम्को मृत्यु भएको छ।
बिहीबार रातिदेखि नै परिवारका सदस्यहरूको फोन बन्द भएपछि शनिबार राति आफन्तहरू रङ्गपुरको दासपाडास्थित उनीहरूको घरमा पुगेका थिए।
ढोका बन्द र बत्ती निभेको देखेर प्रहरीलाई खबर गरिएपछि ढोका फुटाएर हेर्दा चारै जनाको शव फरक(फरक ठाउँमा फेला परेको हो।






























