६ भदौ, क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परि कम्तीमा १५ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार घटनामा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्। भग्नावशेषभित्र अझै धेरै मानिसहरू थुनिएको हुन सक्ने आशंका गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा दिउँसोको समयमा दुई चरणमा यो आक्रमण भएको जानकारी दिँदै यसलाई ुअत्यन्तै निन्दनीयु कार्य भनेका छन्।
जेलेन्स्कीका अनुसार पहिलो प्रहारपछि राहत तथा उद्धारमा खटिएका उद्धारकर्ताहरूलाई लक्षित गरी दोस्रो ड्रोन आक्रमण गरिएको थियो।
बीबीसीले प्रमाणीकरण गरेको भिडियोमा दोस्रो ड्रोन पहिले नै बलिरहेको सपिङ सेन्टरमा ठोक्किएको देखिन्छ। यस आक्रमणबारे रुसी सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।





























