५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा इतर समूहका १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
आज जारी विज्ञप्तिमा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया सुरु हुने भएकाले उक्त महाधिवेशनमा सहभागी नहुन भनिएको छ ।
‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न–नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको भन्दै इतर समूहले आपत्ति पनि जनाएको छ ।
विज्ञप्तिमा पार्टीको आधिकारिकता मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउँदा पार्टीभित्रको विभाजन थप संस्थागत हुने इतर समूहको दाबी छ । इतर समूहले विशेष महाधिवेशनका कारण अहिले नै केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको दाबी गरेको छ ।
‘सुदृढ, सबल र गतिशिल कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निष्कर्ष र प्रतिबद्धता रहेको छ । कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने ठहर गरिएको छ ।






























