५ भदौ, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक खानलाई स्वास्थ्यको विस्तृत मूल्यांकनका लागि निजी अस्पतालमा परीक्षण गराउन अदालतले सङ्घीय सरकारलाई निर्देशन दिएको थियो । अदालतले उनलाई दुई दिनभित्र निजी अस्पतालमा सारेर आवश्यक परीक्षण गराउन आदेश दिएको थियो ।
स्थानीय सञ्चारमाध्यम डनका अनुसार खानलाई अधिकतम सुरक्षा व्यवस्थाबीच अस्पताल लगिएको र परीक्षणपछि जेल फिर्ता गरिएको हो । उनको आवागमनका क्रममा अस्पताल वरिपरि उच्च सुरक्षा घेरा बनाइएको थियो । पित्रास बुखारी रोड र सर्भिस रोड साउथ बिहीबार रातिदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।
इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन र पाकिस्तान रेन्जर्ससहित आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । राजधानी प्रहरी र जेल अधिकारी सम्मिलित टोलीले खानको अस्पताल आवागमन तथा सुरक्षाको व्यवस्थापन गरेको थियो ।
खान सन् २०२३ देखि जेलमा छन्। तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहेका उनमा रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो । हालैका जेल मेडिकल अभिलेखमा पनि स्वास्थ्यसम्बन्धी लक्षण उल्लेख गरिएको थियो ।
सर्वोच्च अदालतले तोकेको स्वास्थ्य परीक्षणअन्तर्गत आवश्यक जाँच र प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उनलाई शुक्रबार बिहान अदियाला जेल फिर्ता लगिएको अधिकारीहरूले बताएका छन् ।





























