Skip

Hamro Sanchar

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्रीमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयमा तीन दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरणअनुसार बागमती सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका थिए। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएका थापाले बिहीबारनै शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार अबको केहीबेरमा मुख्यमन्त्री थापाले शपथ लिनेछन्। थापाको नियुक्तिसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको छ।


प्रतिकृया दिनुहोस्