४ भदौ, काठमाडौं । इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकाको हमलामा सहभागी भएको मानिने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकाको आक्रमणमा सहभागी भएसरह हुने बताएको समाचार एजेन्सी मेहरले जनाएको छ।
उनले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठुलो संख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताएका छन्।
त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भनी वक्तव्य जारी गरेका खाडी मुलुकहरूलाई अवस्थाबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको उनले चेतावनी दिए।
अब्दोलाहीले अमेरिकी सेनालाई सहयोग गर्नु वा अमेरिकी सैन्य गतिविधिका लागि सुविधा उपलब्ध गराउनु इरानविरुद्धको हमलामा प्रत्यक्ष संलग्न भएको मानिने बताएका छन्।
उनको चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ।
इरान र अमेरिकाबिच फेब्रुअरी २८ देखि युद्ध जारी छ। त्यस दिन अमेरिका–इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलापछि लडाइँ सुरु भएको हो। जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्ष्य गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दा मध्यपूर्व नै द्वन्द्वमय भएको छ।
यसैबिच अमेरिकी नौसेनाको ‘यूएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गरिँदै छ। चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘यूएसएस अब्राहम लिंकन’को स्थान लिन मध्यपूर्व पठाउन लागिएको हो।
इरानको चेतावनी अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला आएको हो।
खाडी मुलुकहरूले आफूहरूलाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नगराउने बताए पनि अमेरिकी सेनाका गतिविधि र सैन्य आधार प्रयोगका विषयमा तेहरानले ती देशहरूलाई थप दबाब दिन थालेको छ।





























