Skip

Hamro Sanchar

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको जवाफ : ४ महिनामै जनतालाई सरकार भएको अनुभूति गराउन सकिन्छ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुदन गुरुङलाई जवाफ फर्काएका छन्।

शाहीले ४ महिनामै देशको कायापलट गर्न नसकिए पनि जनतालाई प्रत्यक्ष राहत र परिवर्तनको अनुभूति गराउन सकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले देश निर्माणका लागि समय लाग्ने भए पनि जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न चार महिना पर्याप्त हुने बताएका हुन्।

उनले चार महिनाभित्रै जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन, मानवीय क्षति नहुने गरी शान्ति–सुरक्षा कायम गर्न तथा हचुवा वा सनकका आधारमा नभई सत्य–तथ्य, अध्ययन–अनुसन्धान र प्रमाणका आधारमा ठूला भ्रष्टाचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकिने उल्लेख गरेका छन्।

शाहीले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति र बिचौलियासँगको सम्बन्ध पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन्।

त्यस्तै, भिरमा अड्किएका नागरिकको उद्धार, नेताका अगाडि–पछाडि हुने अनावश्यक सुरक्षा तामझाम घटाउने र राज्यका हेलिकप्टरलाई जनताको उद्धार तथा सेवामा प्राथमिकताका साथ प्रयोग गर्न सकिने बताएका छन्।

उनले अस्पतालमा हुने लामो लाइन घटाउने, स्वास्थ्य सेवा सहज बनाउने तथा पासपोर्ट बनाउन नागरिकले भोग्नुपर्ने अनावश्यक झन्झट र लामो प्रतीक्षा अन्त्य गर्नसमेत चार महिनाभित्र सुधार गर्न सकिने बताएका छन्।

शाहीले सरकारको सेवा प्रवाहमा सुधार गर्दै नागरिकले ‘सरकार छ’ भन्ने अनुभूति गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

“देश बनाउन समय लाग्छ, तर जनताको जीवनमा सुधार ल्याउन चार महिना पनि पर्याप्त हुन्छ,” शाहीले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङले ४ महिना मै कायपलट गर्न नसकिने बताएपछि शाहीले गृहमन्त्रीलाई गतिलो जवाफ दिएका हुन्।


प्रतिकृया दिनुहोस्