Skip

Hamro Sanchar

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत यो घोषणा गर्दै दक्षिण कोरियाले हालै इरानको निःशस्त्रीकरण अभियानमा अमेरिकालाई साथ दिन अस्वीकार गरेको आरोप लगाए ।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘अत्यन्तै राम्रो सम्बन्ध’ रहेकाले पनि संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने बताए ।

उनले संयुक्त सैन्य अभ्यासहरू निकै महँगो हुने र यसको अधिकांश खर्च सधैँझैँ अमेरिकाले नै व्यहोर्दै आएको बताए । यस्ता अभ्यास शत्रुतापूर्ण सन्देश दिने खालका रहेको पनि ट्रम्पको भनाइ छ ।

तर, ट्रम्पले दुई देशले सोमबारदेखि वार्षिक सैन्य अभ्यास सुरु गर्न लागेको र अहिले आएर त्यसलाई रद्द गर्न धेरै ढिलो भइसकेको बताए ।

यसैबीच, दक्षिण कोरियाले पनि अमेरिकासँगको संयुक्त सैन्य अभ्यास पूर्वनिर्धारित तालिकाअनुसार नै अघि बढ्ने जनाएको छ ।

११ दिनसम्म सञ्चालन हुने उक्त अभ्यास अघिल्ला वर्षहरूकै जस्तै ठूलो स्तरमा हुने र त्यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन् ।

गत साता अमेरिकी र दक्षिण कोरियाली सैन्य अधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त सैन्य अभ्यासको घोषणा गरेका थिए ।

किमसँगको सम्बन्धका कारण अभ्यास घटाउँदै ट्रम्प रु
ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने घोषणा गरेको यो पहिलोपटक होइन ।

सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग परमाणु निःशस्त्रीकरणसम्बन्धी वार्ता चलिरहेका बेला ट्रम्पले यस्ता संयुक्त सैन्य अभ्यासहरू स्थगित गरेका थिए । त्यसपछि सन् २०२० मा कोभिड–१९ महामारीका कारण पनि यी सैन्य अभ्यासको आकार घटाइएको थियो ।

ट्रम्पले अहिले फेरि अभ्यास घटाउने निर्णयलाई किमसँगको आफ्नो सम्बन्धसँग जोडेर प्रस्तुत गरेका छन् । यसले अमेरिका–दक्षिण कोरिया सैन्य सहकार्यलाई उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धको सन्दर्भमा पुनः समायोजन गर्न खोजिएको संकेत दिएको बताइएको छ ।

ट्रम्पको घोषणाभन्दा केही दिनअघि दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले पनि उत्तर कोरियासँग वार्ताको प्रस्ताव राखेका थिए । बीबीसी


प्रतिकृया दिनुहोस्