Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई मोदीको जवाफ : सम्बन्ध अझ सुदृढ बनाउन प्रतिबद्ध छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

३० साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले आज बिहान मोदीलाई शुभकामना दिएका थिए।

उनले सामाजिक सञ्जाल एक्समार्फत दिएको शुभकामना सन्देशमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री बालेनले भनेका थिए, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्।’

त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई धन्यवाद दिएका छन्। उनले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

मोदीले भनेका छन्, ‘हामी हाम्रा देशका जनताको आपसी समृद्धि र कल्याणका लागि भारत र नेपालबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्न प्रतिबद्ध छौँ।’

भारतको ८०औँ स्वतन्त्रता दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।


प्रतिकृया दिनुहोस्