२८ साउन, काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन्।
उनले पत्रकार श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रियासमेत नअपनाई राज्यले धरपकड गरेको आरोप लगाउँदै श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँलाई तत्काल रिहाइको माग गर्दछु।’
पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको थियो।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउअघि उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।
































