Skip

Hamro Sanchar

हतियारबारे सूचना चुहाउनेलाई ट्रम्पको चेतावनी : जेल हाल्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ समउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गरेका छन् । उनले पर्याप्त हतियार भण्डार रहेको दाबी गरेका छन् ।

ट्रम्पले यस्तो सूचना चुहाउनेहरूविरुद्ध कडा कारबाही गरिने र उनीहरूले लामो जेल सजाय भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

ट्रम्पले बिहीबार सामाजिक सञ्जाल माध्यम ट्रुथ सोसलमा लेख्दै अमेरिकासँग विशेष प्रकारका हतियारसहित ठूलो मात्रामा गोला–बारुदको पर्याप्त भण्डार रहेको बताएका छन् । यद्यपि, उनले यसको परिमाण वा अन्य विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।

उनले भने, “ठूलो मात्रामा गोला–बारुद उत्पादन भइरहेको छ र आवश्यक परे तुरुन्तै उपलब्ध गराइनेछ । रक्षा उद्योगहरूले अमेरिकी इतिहासमै सबैभन्दा धेरै नयाँ कारखाना र उत्पादन केन्द्रहरू निर्माण गरिरहेका छन् ।”

वासिङ्टन पोस्टका अनुसार गत शुक्रबार क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षा मन्त्री पिट हेगसेथसँग गोला–बारुदको कथित अभावबारे स्पष्टीकरण मागेका थिए ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै ट्रम्पले आफूले यो समस्या पहिले नै समाधान भइसकेको ठानेको दाबी गरेको जनाएको थियो ।

यी समाचारप्रति प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यी देशद्रोही सूचना चुहाउने व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूले लामो जेल सजाय भोग्नेछन् ।”

अर्कोतर्फ, सीएनएनले आफ्नो रिपोर्टमा लामो दूरीका निर्देशित मिसाइल र हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलहरूको अभावले इरानसम्बन्धी ट्रम्प प्रशासनको रणनीतिमा असर पारेको दाबी गरेको थियो । उक्त रिपोर्टमा अमेरिकी सेनाले आफ्नो थाड हवाई प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत मिसाइल प्रयोग गरिसकेको उल्लेख गरिएको थियो ।

त्यस्तै, वासिङ्टन पोस्टले हतियारको अभावका कारण ट्रम्पले इरानमाथि अत्यन्तै कडा आक्रमण गर्ने चेतावनी दिए पनि केही नयाँ सैन्य कारबाही स्थगित गरेको दाबी गरेको थियो ।

यद्यपि, ह्वाइट हाउस की प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र रक्षा मन्त्री पिट हेगसेथबीच मतभेद रहेको समाचारलाई फेक न्युज भनेकी छन् ।

पेन्टागनका वरिष्ठ प्रवक्ता सिन पार्नेलले पनि ट्रम्प–हेगसेथबीच विवाद तथा हतियार अभावसँग सम्बन्धित सबै रिपोर्टहरूलाई पूर्ण रूपमा भ्रामक भएको बताएका छन् । बिबिसी


प्रतिकृया दिनुहोस्