काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ जुलाईमा भएको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नभएको जिकिर गरेकी छन् ।
उनले आफ्नो सरकारले सुरुदेखि नै संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास गरेको भए पनि संगठित समूहले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक आन्दोलनमा परिणत गरेको आरोप लगाइन् ।
बुधबार नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाद्वारा आयोजित कार्यक्रममा ‘भर्चुअल’ रूपमा सहभागी हुँदै उनले आफ्नो धारणा राखेकी हुन् ।
कार्यक्रममा उनले पत्रकारका प्रश्नको पनि जवाफ दिएकी थिइन् । उनका छोरा सजिब वाजेद जोय र बंगलादेशका क्रिकेटर शाकिब अल हसन पनि कार्यक्रममा सहभागी थिए ।
हसिनाका छोरा सजिब वाजेद जोयले भारतमा आफ्नी आमालाई राष्ट्राध्यक्षसरहको सम्मान र व्यवहार गरिएको बताए ।
आफ्नो सम्बोधनका क्रममा शेख हसिनाले स्वदेश फर्कने प्रतिबद्धता पुनः दोहोर्याइन् । उनले आफू यही वर्ष डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताइन् । समय आएपछि फिर्तीको निश्चित मिति र समय सार्वजनिक गर्ने उनले जानकारी दिइन् । उनले आफू जनतामाझ फर्कन चाहेको पनि उल्लेख गरिन् ।






























