
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरी जिल्लामा हालै सिरहामा भएका हिंसात्मक घटना र त्यसबाट उत्पन्न तनावप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्।
आज जारी गरिएको सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको देश भएकाले सबै समुदायबीचको मेलमिलाप नै नेपाली समाजको प्रमुख शक्ति भएको उल्लेख गरेका छन्।
उनले कुनै पनि कारणले सामाजिक सद्भाव बिग्रिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
सन्देशमा केही दिनअघि सुनसरीका केही स्थानमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका अन्य क्षेत्रमा समेत परेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
उनले यस्ता अवाञ्छित घटनाले नेपालको मौलिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने भन्दै सबै नेपालीलाई मिलेर शान्ति र सहअस्तित्व कायम गर्न आह्वान गरेका छन्।
पूर्वराजा शाहले अन्त्यमा नेपाली समाजको सहिष्णु परम्परालाई जोगाउन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।































