Skip

Hamro Sanchar

नवनियुक्त शिक्षाध्यक्ष र रजिष्ट्रारलाई नेपाल पब्लिक क्याम्पस सङ्घको बधाई, सामुदायिक क्याम्पसका समस्या समाधानमा पहल गर्न आग्रह

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंह र कुलसचिव (रजिष्ट्रार) सह प्रा. डा. रबिन्द्र शिवाकोटीलाई नेपाल पब्लिक क्याम्पस सङ्घले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधिमण्डलले नवनियुक्त पदाधिकारीलाई उहाँहरूकै कार्यकक्षमा भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको हो।

बधाई तथा शुभकामना दिने क्रममा सङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त पदाधिकारीहरूलाई आफ्नो कार्यकालमा त्रिभुवन विश्वविद्यालय र सामुदायिक क्याम्पसका लागि प्रभावकारी काम गर्न आग्रह गरेको छ। विशेषगरी विषय तथा कार्यक्रम सम्बन्धन दिने प्रक्रिया शीघ्र टुङ्ग्याउन, स्तर निर्धारण तथा नवीकरणका कामलाई सहज बनाउन र जग्गा भोगाधिकारसम्बन्धी जटिल समस्याको समाधानका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन प्रतिनिधिमण्डलले आग्रह गरेको जनाएको छ।

सामुदायिक क्याम्पसहरूले लामो समयदेखि भोग्दै आएका समस्याको समाधानमा विश्वविद्यालय नेतृत्वले सामुदायिक क्याम्पसप्रति सकारात्मक र सहजीकरणमुखी दृष्टिकोण अपनाउनुपर्नेमा सङ्घले जोड दिएको छ।

सङ्घले नवनियुक्त पदाधिकारीबाट विगतको परम्परागत कार्यशैलीमा केही सकारात्मक परिवर्तन आउने र सामुदायिक क्याम्पसका समस्या समाधानका लागि फलदायी पहल हुने अपेक्षा राखेको जनाएको छ। सङ्घका अनुसार अहिलेको अवस्थामा आशा र अपेक्षा नै सामुदायिक क्याम्पस सञ्चालनको मुख्य आधार बनेको छ।

यसैबीच नेपाल पब्लिक क्याम्पस सङ्घको केन्द्रीय प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापासँग पनि अन्तरक्रिया गरेको छ।

अन्तरक्रियाका क्रममा सामुदायिक क्याम्पससँग सम्बन्धित संवेदनशील तथा पेचिला विषयमा उपकुलपति थापाले दिएका अभिव्यक्तिबारे प्रतिनिधिमण्डलले आफ्ना धारणा राखेको जनाएको छ। ती विषयमा स्पष्टता र सकारात्मक सम्बोधनको अपेक्षा राखिए पनि प्रतिनिधिमण्डलमा थप गम्भीर छलफल र आगामी रणनीति तय गर्नुपर्ने आवश्यकता महसुस भएको सङ्घको भनाइ छ।

उपकुलपतिसँगको भेटपछि सङ्घको प्रतिनिधिमण्डलले सामुदायिक क्याम्पसका समस्या तथा विश्वविद्यालय नेतृत्वसँगको पछिल्लो अन्तरक्रियाका विषयमा केन्द्रीय तहमा गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेपाल पब्लिक क्याम्पस सङ्घले आगामी दिनमा चाल्नुपर्ने कदम, सामुदायिक क्याम्पसका समस्या समाधानका लागि अपनाउनुपर्ने रणनीति तथा त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धका विषयमा छिट्टै गम्भीर छलफल गर्ने तयारी गरेको जनाएको छ।


प्रतिकृया दिनुहोस्