काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका १३ वटा विपद्का घटना भएका छन् ।
ती घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, कात्तिक ७ गते बिहान १० बजेदेखि ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमण लगायतका विपद्का घटना भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौं, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ ।
विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपदमा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ ।
प्राधिकरणका अनुसार, विपदबाट भएको क्षतिको विवरण संकलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विपद्का घटनाबाट थप क्षति हुन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।
प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै आवश्यक सतर्कता अपनाउनसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।































