Skip

Hamro Sanchar

भोटेकोशी बाढीले पूर्णरुपमा क्षेती पुगेको त्रिशूली बहुमुखी कलेजलाई नेपाल पब्लिक क्याम्पस संघको रु १ लाख सहयोग

विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार स्विथानीय तहले सहयोगमा विशेष साथ दिनुपर्नेमा जोड

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

काठमाडौं, भदौ ३१- बाढीका कारण भवन तथा शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नुवाकोटको त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ। भौतिक संरचनामा क्षति पुगे पनि विद्यार्थीको अध्ययन र उच्च शिक्षाको यात्रा भने रोक्न नहुने भन्दै सामुदायिक कलेजहरू सहयोग र सहकार्यमा जुट्न थालेका छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत विदुर–२, नुवाकोटमा सञ्चालित त्रिशूली बहुमुखी कलेजको भवन बाढीका कारण क्षतिग्रस्त भएपछि नियमित पठनपाठन प्रभावित भएको हो। विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन विदुर नगरपालिकाले वैकल्पिक व्यवस्थाका लागि पहल अघि बढाएको छ। नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको जग्गामा रहेको पुरानो स्टार बोर्डिङ स्कुलको भवनलाई आवश्यक समन्वय र प्रक्रियामार्फत कलेज सञ्चालनका लागि प्रयोग गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेको छ।

यसैबीच, नेपाल पब्लिक क्याम्पस संघले त्रिशूली बहुमुखी कलेजलाई प्रारम्भिक सहयोगस्वरूप रु. १ लाख प्रदान गरेको छ। संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले संघको कार्यालयमा कलेजका क्याम्पस प्रमुखलाई रु. १ लाखको चेक हस्तान्तरण गर्नुभयो।

त्यसैगरी काठमाडौं शिक्षा क्याम्पस, सतुंगलले पनि रु. २५ हजार सहयोग गरेको छ।

चेक हस्तान्तरण गर्दै अध्यक्ष गुप्ताले सहयोग रकमभन्दा पनि विपद्को समयमा सामुदायिक कलेजहरूबीचको ऐक्यबद्धता महत्वपूर्ण रहेको बताउनुभयो। “यो सहयोग रकम मात्र होइन, विपद्को समयमा त्रिशूली बहुमुखी कलेजसँग नेपालका सामुदायिक कलेजहरू साथमा छन् भन्ने सन्देश पनि हो। कलेजको भवन पुनःनिर्माण गर्न समय लाग्न सक्छ, तर विद्यार्थीको पढाइ रोक्नु हुँदैन। उनीहरूको शैक्षिक यात्रा निरन्तर अघि बढ्नुपर्छ।”

अध्यक्ष गुप्ताका अनुसार त्रिशूली बहुमुखी कलेज नुवाकोटका धेरै विद्यार्थीका लागि स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण माध्यम हो। कलेजको भौतिक संरचना क्षतिग्रस्त हुँदा विद्यार्थीलाई उच्च शिक्षामा पहुँच कायम राख्न थप आर्थिक तथा भौगोलिक कठिनाइ उत्पन्न हुनसक्ने उहाँको भनाइ छ।

“आज त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ, भोलि यस्तो विपद् कुनै अर्को सामुदायिक कलेजमा पनि आउन सक्छ,” गुप्ताले भन्नुभयो, “त्यसैले हामीले एकअर्काको दुःखमा साथ दिने संस्कार विकास गर्न आवश्यक छ।”

उहाँले देशभरका ५५० भन्दा बढी सामुदायिक कलेजलाई आ–आफ्नो क्षमताअनुसार त्रिशूली बहुमुखी कलेजको पुनःस्थापना र विद्यार्थीको अध्ययन निरन्तरताका लागि सहयोग गर्न आह्वान गर्नुभएको छ।

गुप्ताका अनुसार एउटा कलेजले रु. ५ हजार, रु. १० हजार वा आफ्नो क्षमताअनुसार सहयोग गर्दा पनि देशभरका सामुदायिक कलेज एकजुट भए त्यसले ठूलो सहयोगमा रूपान्तरण हुन सक्छ।

 

त्रिशूली बहुमुखी कलेजको तत्कालीन आवश्यकता वैकल्पिक स्थानबाट नियमित पठनपाठन सञ्चालन गर्नु र दीर्घकालीन रूपमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्नु हो। त्यसका लागि कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, फर्निचर, सूचना प्रविधि तथा अन्य शैक्षिक सामग्रीको व्यवस्थापन आवश्यक देखिएको छ।

अध्यक्ष गुप्ताले कलेजको पुनःस्थापना तथा विद्यार्थीको अध्ययन निरन्तरताका लागि विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार, विदुर नगरपालिका तथा अन्य सम्बन्धित निकायले विशेष प्राथमिकताका साथ सहयोग गर्नुपर्ने बताउनुभयो।

अध्यक्ष गुप्ताले सामुदायिक कलेजहरू सीमित स्रोतसाधनमा स्थानीय विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराइरहेको उल्लेख गर्दै विपद्मा परेका संस्थालाई जोगाउनु “विद्यार्थीको भविष्य जोगाउनु” भएको बताउनुभयो।

काठमाडौं शिक्षा क्याम्पसले गरेको रु. २५ हजार सहयोगले पनि सामुदायिक कलेजहरूबीचको सहकार्य र आपसी जिम्मेवारीको भावना अभिव्यक्त गरेको छ। आगामी दिनमा अन्य सदस्य कलेज, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा शुभेच्छुकहरूलाई समेत सहयोग अभियानमा जोडिन आग्रह गरिएको छ।

“हामीले अहिले त्रिशूली बहुमुखी कलेजलाई सहयोग गर्दैछौँ, तर वास्तवमा हामी त्यहाँका विद्यार्थीको भविष्यलाई सहयोग गर्दैछौँ,” गुप्ताले भन्नुभयो, “बाढीले भवनमा क्षति पुर्याउन सक्छ, तर हाम्रो सामूहिक प्रयासले विद्यार्थीको सपना रोक्न दिँदैन।”

त्रिशूली बहुमुखी कलेजको पुनःस्थापना अब एउटा संस्थाको मात्र जिम्मेवारी नभई सामुदायिक उच्च शिक्षाको पहुँच र विद्यार्थीको भविष्यसँग जोडिएको साझा विषय बनेको छ। एनपीसीएको प्रारम्भिक सहयोग र काठमाडौं शिक्षा क्याम्पसको ऐक्यबद्धताले पुनःस्थापना अभियानको सुरुवात गरेको छ भने आगामी दिनमा देशभरका सामुदायिक कलेज, विश्वविद्यालय, सरकार र समाजका विभिन्न तहबाट थप सहयोग जुट्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्