Skip

Hamro Sanchar

मनास्लु हिम पहिरोमा पुरिएर २ जना आरोहीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असोज, काठमाडौं । हिम पहिरोमा पुरिएर मनास्लु हिमालमा दुई आरोहीको मृत्यु भएको छ।

गएराति हिउँ पहिरोमा परेर भारतीय मूलका जर्मन नागरिक र उनका सहयोगी नेपाली नागरिकको मृत्यु भएको हो।

हिम पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।

सुतिरहेको टेन्टमा माथिबाट हिम पहिरोले पुरिएका थिए। दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।

तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको छ।

यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो्। त्यस्तै, उनका नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो।

मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ। अब आरोहीले आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्