
३२ असार, काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण आज धेरै स्थानमा वर्षा हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली भूभाग, तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभरको मौसममा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। राति विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ।
मनसुनी प्रभाव र भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम उच्च हुन सक्छ। तसर्थ, नदी तटीय क्षेत्रका बासिन्दा, पहाडी क्षेत्रका सडक प्रयोगकर्ता र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।






























