Skip

Hamro Sanchar

ट्रम्पको दबाबमा अमेरिकी स्टार स्ट्राइकर बालोगुनको निलम्बन फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


Advertisement

२२ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को जारी खेलहरूका बीच एक अप्रत्याशित घटना सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्टार स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सिधै फोन गरी बालोगुनमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

बोस्निया एन्ड हर्जेगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका कारण बालोगुन स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए।

फिफाको अनुशासन समितिले आइतबार आफ्नो निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ बमोजिम बालोगुनमाथिको स्वतः लागू हुने एक खेलको प्रतिबन्धलाई एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको जनाएको छ।

यो निर्णयसँगै २५ वर्षीय बालोगुन मंगलबार हुने बेल्जियम विरुद्धको संवेदनशील खेल खेल्न योग्य भएका छन्।

जारी विश्वकपमा तीन गोल गर्दै अमेरिकालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका बालोगुनले बोस्नियाविरुद्धको खेलको ६४औँ मिनेटमा रातो कार्ड खाएका थिए।

फिफाको यो कदमलगत्तै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, ठीक निर्णय गरेर टोलीमाथि हुन लागेको ठूलो अन्याय सच्याएकोमा फिफालाई धेरै–धेरै धन्यवाद।

फिफाको यो निर्णयले फुटबल जगतमा ठूलो विवाद र बहस सिर्जना गरेको छ।


प्रतिकृया दिनुहोस्