
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापाले विद्यालय तहदेखि नै कानुनी शिक्षा र सचेतना आवश्यक रहेको बताएकी छन्।
सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित कानुनी प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले भनिन्, “विद्यार्थीहरू आजका मात्र होइन, भोलिका जिम्मेवार नागरिक पनि हुन्। उनीहरूले आफ्ना अधिकार र कर्तव्यसँगै कानुनको आधारभूत ज्ञान विद्यालयमै प्राप्त गर्न सके समाजमा हुने धेरै प्रकारका हिंसा, दुर्व्यवहार, साइबर अपराध तथा सामाजिक विकृतिलाई न्यूनीकरण गर्न सकिन्छ।”
उनले कानुनी सचेतना केवल अदालत वा न्यायिक निकायसम्म सीमित विषय नभई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरिन्। “घर, विद्यालय र समाजमा देखिने समस्या समाधान गर्न कानुनी ज्ञानले सही निर्णय लिन सहयोग पुर्याउँछ। त्यसैले यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिनेछ,” उनले भनिन्।
उपप्रमुख थापाले प्रहरी, विद्यालय, अभिभावक र स्थानीय तहबीचको सहकार्यबाट मात्रै बालमैत्री, सुरक्षित र कानुनप्रति जिम्मेवार समाज निर्माण गर्न सकिने उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, सचेत र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गरिन्। साथै, उनले कार्यक्रममा सहजीकरण गर्ने प्रहरी अधिकारी, न्यायिक समिति सदस्य तथा सहभागी विद्यालयप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता प्रशिक्षणलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई साइबर अपराध, लागूऔषध दुर्व्यसन, किशोर अवस्थाको कानुनी जिम्मेवारी तथा डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो। प्रशिक्षकहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग गर्दा व्यक्तिगत गोपनीयताको संरक्षण, अपरिचित व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्ने, भ्रामक सूचना तथा अनलाइन ठगीबाट सचेत रहने, साथै कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन विद्यार्थीहरूलाई आग्रह गरेका थिए। साथै, लागूऔषधको दुव्र्यसनबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरबारे जानकारी गराउँदै त्यसबाट टाढा रहन र जिम्मेवार तथा सुरक्षित डिजिटल नागरिकका रूपमा व्यवहार गर्न प्रेरित गरिएको थियो।
































