
१० असार, काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ ।
समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-० ले विजयी भएको हो ।
पोर्चुगलका लागि रोनाल्डोले दुई, नुनो मेन्डिज र राफेल निओलले समान एक गोल गरे । उज्वेकिस्तानका अब्दुलोभ खुसानोभले आत्मघाति गोल गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो ।
पहिलो हाफको छैटौँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
जोआओ क्यान्सिलोको क्रस पासलाई सदुपयोग गर्दे उनले बललाई जाली चुमाएका थिए । खेलको १६ औँ मिनेटमा नुनो मेन्डिजले गोल गर्दै टोलीको अग्रता बढाए। ३९ औँ मिनेटमा ब्रुनो फर्नान्डिजको पासलाई रोनाल्डोले गोलमा परिणत गरे । ८७ औँ मिनेटमा राफेलले गोल गरेका थिए ।
पहिलो हाफको २८ औँ मिनेटमा उज्वेकिस्तानका अब्दुलाह अब्दुलेभले बललाई जाली चुमाएका थिए । तर त्यसअघि फाउल भएको भीएआरमार्फत प्रमाणित भएपछि उक्त गोलले मान्यता पाउन सकेन ।
समूह चरणको पहिलो खेलमा गोल गर्न चुकेका रोनाल्डोले उज्वेकिस्तानविरुद्धको खेलबाट कीर्तिमानै कीर्तिमान बनाएका छन् । रोनाल्डो २००६ देखि हालसम्मका ६ वटै संस्करणमा गोल गर्ने खेलाडी बनेका छन् ।
उनी विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी समेत बनेका छन् । यस्तै, १० गोल गर्दै पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा बढी गोल गर्ने ६० वर्षअघिको रेकर्ड रोनाल्डोले भत्काएका छन् ।
६ दशकसम्म पोर्चुगलका लागि विश्वकपमा ९ गोल गर्ने ओसिबेको रेकर्ड कसैलै तोड्न सकेको थिएन । १९६६ को विश्वकपमा उनले ९ गोल गरेका थिए । उक्त रेकर्ड भंग गर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो बनेका हुन् ।
जितसँगै पोर्चुगलले तालिकामा चार अंक जोडेको छ । पहिलो खेलमा डीआर कंगोसँग बराबरीमा रोकिँदा पोर्चुगलले एक अंक पाएको थियो । उज्वेकिस्तानसँगको जितपछि पोर्चुगलले तीन अंक पाएको छ ।






























