
दोलखा । कालिञ्चोक मन्दिर दर्शन गरी चरिकोटतर्फ फर्किरहेको कार सोमबार दुर्घटनामा पर्दा काठमाडौंको शंखरापुर नगरपालिकाका ७ जना घाइते भएका छन्।
दुर्घटनामा शंखरापुरका–३ निवासी २९ वर्षीय चालक निरज तामाङ, शंखरापुर–२ का ६८ वर्षीय सतन नागर्जु, ५५ वर्षीया राधी नागर्जु, २२ वर्षीया अनिता नागर्जु, १२ वर्षीय सुजन नागर्जु, ८ वर्षीय सुजित नागर्जु तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।
दोलखाको भिमेश्वर नगरपालिका–६ अन्तर्गत कालिञ्चोक–चरिकोट सडकखण्डमा बा १५ च १४९२ नम्बरको कार अपराह्न करिब २ः३० बजे ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार सतन नागर्जुको अनुहारमा, अनिता नागर्जुको शरीरका विभिन्न भागमा, सुजन नागर्जुको दुवै हात, खुट्टा र छातीमा तथा सुजितको बाँया खुट्टामा फ्र्याक्चर भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल पठाएको थियो।
हाल घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कार र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा राखिएको छ।






























