
५ असार, काठमाडौं । सह-आयोजक मेक्सिकोले दक्षिण कोरियामाथि १-० को कठिन जित निकाल्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा जित हात पार्दै मेक्सिको समूह ए को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो ।
खेलको पहिलो हाफ निकै फितलो रहेको थियो । मेक्सिकोले तीन वटा मात्र प्रहार गर्न सक्यो भने दक्षिण कोरियाले एकपटक पनि गोलतर्फ प्रहार गर्न सकेन ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि घरेलु समर्थकहरूले आफ्नो टोलीप्रति असन्तुष्टि जनाउँदै हुटिङ गरेका थिए ।
तर, दोस्रो हाफमा मेक्सिकोले आक्रामक खेल प्रस्तुत गर्यो । खेलको ५०औं मिनेटमा लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त गोल दक्षिण कोरियाली गोलकिपर किम सुङ–ग्युको ठूलो गल्तीका कारण सम्भव भएको थियो ।
कर्नरबाट आएको बल समात्ने क्रममा उनी आफ्नै खेलाडीसँग ठोक्किँदा बल हातबाट फुस्कियो र रोमोले खाली पोस्टमा सहजै गोल गरे ।
त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास जारी राखे । गल्ती गरेका किमले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तीन महत्त्वपूर्ण बचाउ गरे र मेक्सिकोलाई थप गोल गर्नबाट रोके ।
यता मेक्सिकन गोलकिपर राउल रान्गेल पनि उत्कृष्ट प्रदर्शनमा देखिए । उनले दक्षिण कोरियाका केही खतरनाक अवसर विफल पार्दै टोलीको अग्रता जोगाए । विशेषगरी खेलको ८७औं मिनेटमा उनले लगातार दुई उत्कृष्ट बचाउ गर्दै मेक्सिकोको जित सुनिश्चित गरे ।
यस जितसँगै मेक्सिको समूह ए को शीर्ष स्थानमा रहँदै विश्वकपको अन्तिम ३२ ९राउन्ड अफ ३२० मा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।






























