Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनी प्रदेश “चौथो राष्ट्रिय डोरीतान प्रतियोगिता” को च्याम्पियन

सुदिप बर्देवा प्रकाशित : २०८३ जेठ, २२ गते


Advertisement

काठमाडौं, जेठ २२-  ललितपुरको च्यासल खेलमैदानमा सम्पन्न चौथो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। पाँच प्रदेशका टोली तथा दुई विभागीय टोली गरी सात टोली सहभागी प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–१ सेटले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गराएको हो।

लिग चरणबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा एपीएफले कोशी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई हराएर उपाधि भिडन्तमा स्थान बनाएको थियो।

रोमाञ्चक बनेको फाइनलको पहिलो सेटमा लुम्बिनी प्रदेशले एपीएफलाई १ मिनेट ९ सेकेन्डमा आफूतर्फ तानेर अग्रता लिएको थियो। दोस्रो सेटमा एपीएफले उत्कृष्ट पुनरागमन गर्दै लुम्बिनीलाई ४५ सेकेन्डमै आफूतर्फ तानेर खेल बराबरीमा ल्यायो।

पहिलो दुई सेट १–१ को बराबरी भएपछि उपाधि निर्धारणका लागि निर्णायक तेस्रो सेट खेलाइएको थियो। तेस्रो सेटमा लुम्बिनी प्रदेशले एपीएफलाई ५० सेकेन्डमा आफूतर्फ तानेर उपाधि जित्न सफल भएको प्रतियोगिताका प्रमुख निर्णायक सन्तोष तामाङले जानकारी दिए।

प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहेताले विजेता लुम्बिनी प्रदेश टोलीलाई ट्रफी सहित नगद १ लाख रुपैयाँ तथा उपविजेता एपीएफ टोलीलाई ट्रफी सहित नगद ५० हजार रुपैयाँ प्रदान गरिएको नेपाल डोरीतान संघका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्