
१२ जेठ, काठमाडौँ । काठमाडौंमा फेरि बर्ड फ्लु देखिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा व्यावसायिक रूपमा पालिएका कुखुरा र हाँसहरूमा घातक ‘बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय फार्महरूमा अचानक ठुलो सङ्ख्यामा पन्छीहरू मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा यो भाइरस फेला परेको हो, जसका कारण उपत्यकामा जैविक सुरक्षाको चिन्ता थप बढेको छ ।
सङ्क्रमणलाई थप फैलिन नदिन गोकर्णेश्वर नगरपालिका र पशु सेवा विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा आपत्कालीन नियन्त्रण कार्य सुरु गरिसकेका छन् ।
टोलीले सङ्क्रमित क्षेत्र वरपरका हजारौँ हाँस, कुखुरा र बट्टाई नष्ट गर्नुका साथै फार्ममा रहेका अण्डा, दाना र सुली समेत सङ्कलन गरी सुरक्षित रूपमा खाल्डोमा पुर्ने काम तीव्र पारेको छ ।
जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले प्रभावित वडाहरूबाट पन्छीजन्य सामग्रीको ओसारपसार र बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
नगरपालिकाले सर्वसाधारण र कृषकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गर्दै फार्ममा चराचुरुङ्गी अस्वाभाविक रूपमा मरेमा तुरुन्त खबर गर्न र मासु तथा अण्डा राम्ररी पकाएर मात्र उपभोग गर्न विशेष आग्रह गरेको छ ।




























