
१० जेठ, काठमाडौं । जुम्लाको तिला गाउँपालिका– ९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरीबतासले उडाएको छ ।
जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ ।
हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।
शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ ।
विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताए ।
हुरीबतासले विद्यालयको छानो उडाएपछि आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या हुने भएको छ । विद्यालयमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रधानाध्यापक बुढाको भनाइ छ ।
स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरेको विद्यालयले जनाएको छ ।





























