
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५, माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् ।
आज बिहान खसेको पहिरोले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
वर्षापछि फोक्टे क्षेत्रमा पहिरो खसेको थियो । स्थानीय दलबहादुरका २५० भेडामध्ये पहिरोमा २१८ पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् ।
भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ बाढीमा परेर घाइते भएका छन् । उनका हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल छन् ।
घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीकार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र लगभग १० घण्टा पैदल दूरीमा पर्छ । प्रहरी टोली र स्थानीयवासी उद्धार तथा खोजीकार्यका निम्ति घटनास्थलतर्फ गएका छन् ।













