
६ जेठ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ।
यसको प्रभावका कारण अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने तातो हावा चल्ने र तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ। देशका बाँकी तराई भूभागमा भने रातिको मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।













