
३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ ।
कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोसी प्रदेशको तराई क्षेत्रका एकरदुई स्थानमा पनि मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।
आज राति भने कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति नै कोसी प्रदेशका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।













