
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ का कृषक महिला समूहलाई कौसी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ। नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ६० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा कौसी खेती गर्ने आधुनिक तरिका, तरकारी उत्पादन, जैविक मलको प्रयोग, बीउ व्यवस्थापन तथा घरमै स्वस्थ र ताजा तरकारी उत्पादन गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
तालिमसँगै सहभागीहरूलाई आवश्यक कृषि औजार तथा विभिन्न प्रजातिका बिउसमेत वितरण गरिएको थियो। प्रशिक्षकहरूले सीमित स्थानको सदुपयोग गर्दै घरको छत तथा कौसीमा तरकारी खेती गर्न सकिने र यसबाट परिवारको पोषण सुधारसँगै अतिरिक्त आम्दानीसमेत गर्न सकिने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रकाश फुयाल ले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। साथै उनले उत्कृष्ट कृषकलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिने जानकारीसमेत दिएका थिए।
सहभागी महिलाहरूले तालिम निकै उपयोगी रहेको बताउँदै सिकेका सीपलाई व्यवहारमा उतारेर कौसी खेतीलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिममा वडासदस्यहरु बिकाश केसी, रूपमती सापकोटा लगायतको उपस्थिति थियो।












