
२४ बैशाख, काठमाडौं । सरकारले नेतृत्व विहिन विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार पूर्णकालीन नेतृत्व चयन नहुँदासम्म अत्यावश्यक काम नरोकियोस् भन्ने उद्देश्यले अल्पकालीन रूपमा निमित्त नियुक्ति गरिएको हो ।
मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा.नरेन्द्र विक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह-प्रा.डा. विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिएको छ ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह–प्रा.डा. इन्द्र लिम्बू, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह-प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा डा. उमेश नेपाल तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा सह-प्रा.डा.रविन्द्रभक्त तिमलालाई जिम्मेवारी दिइएको छ ।
यस्तै स्वास्थ्य बिमा बोर्ड मा शकुन्तला प्रजापतिलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्र सुधार तथा योग्य नेतृत्व चयनमा कुनै सम्झौता नगर्ने नीति अनुसार छिट्टै खुला प्रतिस्पर्धामार्फत मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ ।
हालै जारी सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण ती स्वास्थ्य निकायहरू नेतृत्वविहीन बनेपछि सेवा प्रवाह प्रभावित हुन सक्ने अवस्था देखिएको थियो । बिरामीको उपचार, दैनिक प्रशासनिक काम तथा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले तत्कालका लागि निमित्त प्रमुख तोकिएको मन्त्रालयले स्पष्ट पारेको छ ।













