Skip

Hamro Sanchar

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि स्कुल जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


Advertisement

२२ बैशाख, काठमाडौं । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना मंगलबारदेखि विद्यालय जाने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

महानगरपालिकाको शिक्षा विभागले  (सोमबार)विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रूचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो। यो विद्यालय बालबालिका रहेको ठाउँबाट पैदल दूरीमै छ।

थापाथली, गैरीगाउँ र सिनामंगलसहितका सुकुम्बासी बस्ती हटाएपछि ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संगमा आश्रित छन्। उनीहरूमध्ये अपांगा भएका १ जना, ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक छन्।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय जाने उमेरका छन्। ४ जनाले यस वर्ष एसइई परीक्षा दिएका छन्। उनीहरूले कम्प्युटर, सिलाइ बुनाइ जस्ता सीप सिक्न चाहेको बताएका छन्।

महानगरपालिकाले यसमा सहजीकरण गरिरहेको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्रालाई अभिभावकले छात्राबासमा राखेर पढाउन चाहेका छन्।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरूमा ११ जना छात्रा र १९ जना छात्र छन्। सुवेदीका अनुसार विद्यार्थीहरूलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्री पनि अभिभावकले मागेका छन्।

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि महानगरले प्याब्सन, एनप्याब्सन र हिसानलाई अनुरोध गरेको छ।


प्रतिकृया दिनुहोस्