Skip

Hamro Sanchar

थापाथलीका ६८ सुकुम्बासी परिवार आए सरकारको सम्पर्कमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


१२ बैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने काम जारी राखेको छ ।

यसक्रममा आज काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ ।

वडा नं–९ स्थित गैरीगाउँ–सिनामंगल र वडा नं–३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं–९ को मनोहरा टोलमा अवैध रूपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्बासी घरधुरी रहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैध रूपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो ।

सुरक्षाकर्मीको टोलीले नै ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरेका थिए ।

यस्तै, थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ । हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यासमा सुरक्षित रूपमा राखिएको छ ।

अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ ।

प्रमाणीकरणका क्रममा सुकुम्बासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं–१ स्थित ‘अपार्टमेन्ट’मा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्