
१० बैशाख, काठमाडौं । काठमाडौं आज विश्वको सबैभन्दा प्रदूषित शहरहरूमध्ये दोस्रो बनेको छ ।
स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो नम्बरमा परेको हो ।
उक्त संस्थाका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई)२१३ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो ।
काठमाडौंसहित आसपासका क्षेत्रमा पनि प्रदूषण बढेको छ । प्रदूषित शहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ एक्यूआई ३ सय ८२ मापन गरिएको छ ।
वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या हुनुका साथै आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्ने खतरा उच्च हुन्छ ।
विज्ञहरूले अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।














