Skip

Hamro Sanchar

महेश बस्नेतको आरोप : बालेन शासनमा असमानता, बेरोजगारी, महँगी र निराशा झन् बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


९ बैशाख, काठमाडौं ।नेकपा (एमाले)का सचिव महेश बस्नेतले मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईतिहाइको सरकार बनेपछि समाजमा गम्भीर संकट चुलिएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वर्तमान सत्ता समीकरणले जनताको अपेक्षा पूरा गर्नुको साटो निराशा मात्र बढाएको बताएका हुन् ।

सचिव बस्नेतले बालेन शाहको वर्तमान शासनकालमा असमानता, बेरोजगारी, महँगी र जननिराशा झन् बढ्दै गएको दाबी गरेका छन् । विशेषगरी सरकारले श्रमिक र विद्यार्थी संगठनहरूलाई खारेज गर्ने प्रयास गरेको भन्दै उनले भनेका छन्, श्रमिक र विद्यार्थीका संगठनहरू खारेज गर्ने प्रयासले वर्तमान सरकार अधिनायकवादी बाटोमा उन्मुख हुँदै गएको स्पष्ट संकेत गर्छ।

कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने नियतका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको उनको ठहर छ । यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको र देशलाई फासिवादतर्फ धकेल्ने खतरा बढेको उनको निष्कर्ष छ।

बस्नेतले अबको कम्युनिष्ट आन्दोलन केवल नारामा मात्र सीमित नभई व्यवहारमा रूपान्तरण हुनुपर्ने बताएका छन् ।

स्थापना दिवसलाई केवल विगतको सम्झना मात्र नभई आजका चुनौतीसँग जुध्ने पुनःप्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ। जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

 

 


प्रतिकृया दिनुहोस्