
९ बैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपालका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन्।
नेकपाको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वामपन्थी तथा कम्युनिस्ट शक्तिहरुबीचको एकतामा जोड दिएका हुन्।
‘नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,’ प्रचण्डको सन्देशमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ। तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ।’
दाहाल इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि पनि सबैमा आह्वान गरेका छन्।
नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा पनि उनको जोड छ।
यस अवसरमा दाहालले न्याय र स्वतन्त्रता, समानता प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारजनप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसहित वि।सं। २००६ साल वैशाख ९ ९२२ अप्रिल १९४९० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।
‘स्थापनासँगै नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशाअनुरूप आज हामी सामन्ती निरङ्कुशताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्,’ प्रचण्डले जारी गरको शुभकामना सन्देशमा भनिएको, ‘साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ। अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्।’
‘महान् लेनिनप्रति उच्च सम्मान व्यक्त गर्दै विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन सबैमा पुनः आह्वान गर्दछु,’ उनले भनेका छन्।















