
८ बैशाख, काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा आइतबार (वैशाख ६)देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ ।
विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना छ ।
विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही जिल्ला प्रभावित हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
दिउँसो, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोसी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले बताएको छ।














