
७ बैशाख, काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।
सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप भएको बताएका छन् ।
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन् । ‘पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूह्रुले कसरी हस्तक्षर गर्न सक्नुभयो होला ?’, उनले प्रश्न गरे ।
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको, मूल मुद्दाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तरवृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मूल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन, समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रुपान्तरण हो’, ज्ञवालीले लेखेका छन्, ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनुहुन्छ ?’














